Wednesday, September 29, 2010

याङे दाइ

Posted by Administrator | Wednesday, September 29, 2010 | Category: |

September 27, 2010: याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट जति लाग्ला हिँडेर । खाली खुट्टा हिँडेर हामीकहाँ आएर होला बिचरा जाडोले काँपिरा’थे । फूलपातीको दिन भएकोले म धेरै खुसी थिएँ । बाले खसीको पुच्छर र कान चैँ पक्कै मलाई नै दिने मेरो आशा !

दाजु-भाइमा जेठो छोरो हुन् याङे । मेरा बाले चैँ यिनलाई “ठुले” भनेर बोलाउने गर्थे । बाको यो शैली  एकखालको हेपायासीपन लाग्थ्यो मलाई। इन्द्रचौक गाउँमा याङे दाइ निकै प्रसिद्ध थिए । लाग्छ यिनी त्यहाँको गाउँ मुखियाभन्दा कम छैनन् । त्यतिका सुकिलामुकिला चैँ नहोलान् । पढेलेखेका कारण यिनी त्यसरी चिनिएका भने होइनन् ।

हात-मुख जोड्नकै लागि उनका हरेक दिन भालेको डाकसंगै सुरु हुन्छन् । गाउँभरिबाट ल्याएका फाटेका कपडा टाल्न होस् कि कसैको आंगमा नयाँ कपडा थपिदिन, याङे दाइ स-परिवार जहिल्यै ब्यस्त रहनु पर्ने बाध्यता । लास छोप्ने कात्रो होस् वा जजमान गर्दा चाहिने धरो, बेहुला-बेहुली सज्जिने सुट होस् वा पुरोहितलाई दान गर्ने कपडा, बाहुनी बजैको मजेत्रो होस् वा पण्डितको कछाड, जग्गे माथिको चंदुवा होस् वा लामाको सेन्पब-सेन्जा, टासीको काब्नी होस् वा डेकीको तेगो, सबै यिनै याङे दाइकै भरमा ।

“ठुले! आइस्?”
बाले आर्मीको मेजरझैं कमाण्ड गर्दै सोधे ।
“हजुर! अब हजुरकहाँ नआएर कहाँ जानु र?”
याङे दाइलाई मैंले भित्रै जानकोलागि भनें । “कान्छा, म तिम्रो घरमा भित्र पस्नु हुन्न,” उनको जवाफ आयो ।
“किन ?” मैंले सोधें ।
“मिल्दैन के”

याङे दाइ आफू हतारमा भएको पनि सुनाउँदै थिए बालाई । दशैंमा लाउने कपडाहरुको डङ्गुर  रहेछ उनीकहाँ । सबैलाई सिलाएर दिनु पर्ने । याङे दाइ अरुलाई खुसी भएको हेर्न चाहने मान्छे : कारण उनी टिकाको दिन पनि त्यही बुच्चे हापिनमा हुन्छन् । त्यस ताका  लुगा सिलाए बापत भेटी दिने चलन त्यति नभएरै होला उनी अरुले जे दिए पनि खुसी भएर लिन्थे । कतिप्रायले त वर्षभरि उनले गरेको सहयोगका लागि इनाम स्वरूप एक पटक मात्र बाली  थमाउने गर्थे । मेरा बाले पनि त्यही भएर होला उनलाई फूलपातीका दिन “पुछ्रे” दिनको लागि डाकेका रहेछन् ।

Click here to read more.

Currently have 0 comments: